नवनियुक्त पाँच जना राजदूतले शपथ लिए

काठमाण्डाै  नवनियुक्त पाँच जना राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएका हुन् ।

प्रकाशमणि पौडेलले पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिनाले मलेसिया, प्रा. डा. कपिलमान श्रेष्ठले दक्षिण अफ्रिका, सेवा लम्सालले बेल्जियम र सुम्निमा तुलाधरले डेनमार्कको राजदूतका रूपमा शपथ लिनुभएको हो ।

सरकारको सिफारिश र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राजदूतहरूलाई राष्ट्रपति पौडेलले नियुक्त गर्नुभएको थियो ।

यस्तै प्रतिनिधिसभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सिंहदरबारमा सभामुख देवराज घिमिरेले आज सचिव राईलाई शपथ गराउनुभएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिशमा झापाको शिवसताक्षी नगरपालिका–२ का राईलाई हिजो सचिव पदमा नियुक्त गर्नुभएको हो ।

  • १७ पुस २०८१, बुधबार

प्रतिक्रिया