बुद्धिचाल महासंघमा ‘सत्ता परिवर्तन’को भूकम्पः अविश्वास प्रस्तावपछि दिपिन राई को नेतृत्वमा नयाँ तदर्थ समिति गठन

bmn.news

काठमाडौं । नेपाली बुद्धिचाल खेलको इतिहासमा दुर्लभ मानिएको घटनाक्रमबीच नेपाल बुद्धिचाल महासंघको विशेष साधारण सभा २०८३ सम्पन्न भएको छ।

लामो समयदेखि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएपछि अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अन्ततः महासंघभित्र ठूलो राजनीतिक तथा संस्थागत हलचलको कारण बनेको छ।

जेठ १० गते काठमाडौंमा सम्पन्न विशेष साधारण सभाले महासंघको नेतृत्व परिवर्तन गर्दै इलामका दीपिन राईको अध्यक्षतामा नयाँ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेको घोषणा गरेको छ। महासंघभित्र आर्थिक पारदर्शिता, खेलाडी छनोट प्रक्रिया, बजेट वितरण र संस्थागत सुशासनका विषयमा उठेका प्रश्नहरूले लामो समयदेखि विवाद सिर्जना गरिरहेका थिए।

विशेष साधारण सभा आयोजना हुनु अघि नै महासंघभित्रको विवाद उत्कर्षमा पुगेको थियो। अध्यक्ष पक्षले मकवानपुरको हेटौंडामा सभा आयोजना गरेको थियो भने असन्तुष्ट समूहले काठमाडौंमा छुट्टै विशेष साधारण सभा सम्पन्न गरेको थियो। एउटै महासंघका दुई अलग–अलग सभा आयोजना हुनु स्वयं नेपाली खेलकुद इतिहासमै असामान्य घटना मानिएको छ।

अविश्वास प्रस्ताव ल्याउने पक्षले महासंघमा आर्थिक अपारदर्शिता, बेरुजु रकम वृद्धि, निर्णय प्रक्रियामा एकलौटीपन तथा खेलाडी र क्लबहरूको भावनाको उपेक्षा गरिएको आरोप लगाएको थियो। उनीहरूले बुद्धिचाल खेलको विकास अवरुद्ध भएको र महासंघ आफ्नो मूल उद्देश्यबाट विचलित भएको दाबी गरेका छन्।

विशेष साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै दिपिन राई लाई अध्यक्ष, ज्ञानेन्द्र पराजुलीलाई वरिष्ठ उपाध्यक्ष, विश्व विजय घिमिरे र ताराबहादुर रानाभाटलाई उपाध्यक्ष, धनबहादुर बोगटीलाई महासचिव, विजय बोध लावतीलाई उपमहासचिव तथा वीरबहादुर राउतलाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ।

त्यसैगरी कुष्माकर काफ्ले, उमेश साह सोनार, भगवती अधिकारी, दिनेश थापा, दीर्घराज अधिकारी, धर्मी खड्का, सबिना लामगादे, टीकादेवी भण्डारी, लक्ष्मी कन्दङवा र अञ्जु साह सदस्यमा चयन भएका छन्।

नयाँ नेतृत्वसँगै महासंघभित्र आशा, अपेक्षा र चुनौती तीनै कुरा एकसाथ देखिएका छन्। अब यो नेतृत्वले नेपाली बुद्धिचाललाई एकताबद्ध बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख उचाल्न सक्छ कि सक्दैन भन्ने प्रश्न सम्पूर्ण बुद्धिचाल समुदायको चासो बनेको छ।

प्रतिक्रिया