राष्ट्र निर्माणका लागि महिला सशक्तिकरण केन्द्र तथा टेवा संस्थाको आर्थिक सहयोग र ललितपुर महानगरपालिका वडा नं. ११ को समन्वयमा तीन दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सम्पन्न

bmn.news

ललितपुर — राष्ट्र निर्माणका लागि महिला सशक्तिकरण केन्द्रको आयोजनामा, टेवा संस्थाको आर्थिक सहयोग तथा ललितपुर महानगरपालिका वडा नं. ११ को समन्वयमा सञ्चालित तीन दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम भव्यतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा सभाध्यक्षका रूपमा श्री गंगा मगराती रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा वडा नं. ११ का वडा अध्यक्ष श्री अरोज कुमार खड्गीको उपस्थिति रहेको थियो।


कार्यक्रममा अन्य विशिष्ट अतिथिहरूको रूपमा वडा सदस्य श्री आफुलु शाक्य, श्रीमती सचिना परियार, श्री कृष्ण महर्जन, श्री जुवन तण्डुकार, श्री चण्डी आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री कुलबहादुर नेपाली, तालिम प्रशिक्षक श्री गणेश बहादुर रावत, सहप्रशिक्षक श्री योगेश शर्मा, स्थानिय समाजसेवी श्री नवीन महर्जनलगायतको उपस्थिति रहेको थियो।


प्रमुख अतिथिसहित सम्पूर्ण अतिथिहरूलाई संस्थाका सदस्य द्वय दिक्षा रोका र रूपा बिसुंखेले खादा ओढाएर स्वागत गरेका थिए। उद्घाटन सत्रको औपचारिक सुरुआत प्रमुख अतिथि श्री खड्गीले पानसमा बत्ती बालेर गर्नुभएको थियो। त्यसपछि संस्थाको तर्फबाट स्वागत मन्तव्य पुनम मल्लले प्रस्तुत गर्नुभयो।

शुभकामना मन्तव्य क्रमशः समाजसेवी श्री नवीन महर्जन, तालिम प्रशिक्षक श्री गणेश बहादुर रावत, टोल संस्था प्रतिनिधि तथा जनप्रतिनिधि श्री कृष्ण महर्जन, र प्रमुख अतिथि वडा अध्यक्ष श्री अरोज कुमार खड्गीले दिनुभएको थियो। उक्त अवसरमा वडा अध्यक्ष खड्गीले संस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


उद्घाटन सत्रको समापन गर्दै सभाध्यक्ष श्री गंगा मगरातीले संस्थाको उद्देश्य, गतिविधि र भावी योजनाबारे जानकारी दिनुभयो।

तीन दिनसम्म सञ्चालन भएको तालिमले महिलाहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास गर्नुका साथै सामाजिक र आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउने उद्देश्य राखेको आयोजक संस्थाले जनाएको छ।

तालिम अवधिभर प्रशिक्षक श्री गणेश बहादुर रावतले “संस्था कसरी दिगो बनाउन सकिन्छ”, “दिगोपनाका लागि आवश्यक पूर्वाधार र नीति–नियमहरू” जस्ता विषयमा बोर्ड सदस्यहरूलाई प्रशिक्षण दिनुभयो। यस्तै, लैङ्गिक समावेशीकरणसम्बन्धी प्रशिक्षण सहप्रशिक्षक श्री योगेश शर्माले दिनुभएको थियो।


सहभागीहरूले तालिम अत्यन्त सिकाइमुखी, व्यावहारिक र सशक्तीकरणमुखी रहेको प्रतिक्रिया दिएका थिए।

समापन सत्रमा संस्थाकी अध्यक्ष श्रीमती गंगा मगरातीले टेवा संस्थाको सहयोगमा सञ्चालन गरिएको यो पहिलो कार्यक्रम अत्यन्तै उपलब्धिमूलक भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमहरू थप सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। संस्थालाई भविष्यमा एक सशक्त र प्रभावशाली संस्थाका रूपमा विकास गर्न सबैको सहकार्य आवश्यक रहेको उहाँले जोड दिनुभयो।


कार्यक्रमको अन्त्यमा अध्यक्ष मगरातीले टेवा संस्था, तालिम प्रशिक्षकहरू, सहभागीहरू, वडा अध्यक्ष, अन्य जनप्रतिनिधि, समाजसेवी तथा सम्पूर्ण सहयोगीहरूप्रति आभार व्यक्त गर्दै तालिमको समापन गर्नुभयो।

प्रतिक्रिया