लालबन्दी (सर्लाही) – भारतको बिहारस्थित राजगिर स्पोर्ट्स सेन्टरमा आगामी अगस्ट ९ र १० गते आयोजना हुने एशिया रग्बी यु–२० सेभेन्स महिला प्रतियोगिताका लागि आवश्यक खेलाडी छनोट कार्यक्रम शनिबार सर्लाहीको लालबन्दीस्थित राधाकृष्ण खेलमैदानमा सम्पन्न भएको छ।
नेपाल रग्बी संघको आयोजनामा तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को समन्वयमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न प्रदेशहरूबाट करिब २० जना महिला खेलाडीहरूले सहभागिता जनाएका थिए। सहभागी खेलाडीहरूबीच शारीरिक परीक्षण, सीप मूल्यांकन तथा छनोट प्रक्रिया सञ्चालन गरिएको थियो। तीमध्ये १२ जना खेलाडीहरू अन्तिम रूपमा छनोट गरिएका छन्, जसले नेपाललाई सो अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्नेछन्।
छनोट कार्यक्रम नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा हरिप्र नगरपालिका प्रमुख गोपाल परियार प्रमुख अतिथि रहेका थिए भने मधेश प्रदेश खेलकुद परिषद्का सदस्य श्याम (प्रभुनारायण) शिवाकोटी र सर्लाही जिल्ला खेलकुद परिषद्का सदस्य गोपाल लामा विशेष अतिथिको रूपमा उपस्थित थिए।
नेपाल रग्बी संघका अनुसार प्रतियोगितामा सहभागी सबै संघले आफ्ना टोलीसँग अनिवार्य रूपमा दुई जना मेडिक्स (स्वास्थ्यकर्मी) पठाउनु पर्नेछ। यदि मेडिक्स पठाइएको छैन भने, प्रत्येक अनुपस्थित मेडिक्सका लागि संघको यात्रा भत्ताबाट कटौती गरिने जानकारी संघले दिएको छ। साथै, सभी खेलाडीको बीमा अनिवार्य गरिएको छ।
स्वास्थ्य समन्वयका लागि मोडल हस्पिटल, लालबन्दी, सर्लाही तथा डा. आलोक कुशवाहको समन्वय रहेको छ।
नेपाल रग्बी संघले यस कार्यक्रममार्फत ग्रामीण तथा प्रदेशस्तरीय महिला खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी गराउने उद्देश्य राखेको छ। सोही उद्देश्य अनुरूप प्रशिक्षण तथा छनोट प्रक्रिया अघि सारिएको हो।