काठमाण्डौ । कैलालीको धनगढीमा आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरू हुँदैछ । फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक गो ड्रिमर्सले जनाएको छ ।
उद्घाटन खेलमा आज धनगढी र डडेलधुरा खेल्दैछन् । खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । प्रतियोगितामा देशभरका आठ वटा क्लब सहभागी छन् ।
समूह ‘ए’ मा धनगढी,डडेलधुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन् । यस्तै समूह ‘बी’ मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौ, न्यू होराईजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।
अर्जुन ट्रफीको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । अर्जुन ट्रफीमा नेपाली क्रिकेट टोलीका खेलाडीहरुले पनि विभिन्न क्लबबाट खेल्दैछन् ।
नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटमा योगदान पुर्याएका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै प्रतियोगिता आयोजना गरिएको गो ड्रिमर्सका अध्यक्ष सुवास बी शाहीले जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि भीआईपीतर्फ दुई सय र साधारण तर्फ एक सय रुपैयाँ टिकट दर तोकिएको छ । प्रतियोगितामा पहिलो क्याच गर्ने दर्शकले नगद एक लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।