हुन्डी कारोबार गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । अवैध हुुन्डीको कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

पक्राउ पर्नेहरुमा खोटाङको बराहपोखरी गाउँपालिका–२ घर भएका २३ वर्षीय विजय कुमार राई र रामेछापको मन्थली नगरपालिका–६ घर भएका २८ वर्षीय खेटराज श्रेष्ठ छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

राईबाट २५ लाख र श्रेष्ठबाट १७ लाख १९ हजार गरी ४२ लाख १० हजार हुन्डीको रकम समेत बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । उनीहरु बिशालबजार एरियाबाट पक्राउ परेको प्रहरीले बताएको छ ।

पक्राउ परेका दुबै जनालाई उक्त रकमसहित थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको छ ।


प्रतिक्रिया