काठमाडौँ :- रोशी खोलामा पानीको सतह बढेपछि सोमबार दिउँसोदेखि बन्द भएको बिपी राजमार्ग मंगलबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ।
खोलाको बहाव बढेपछि सुरक्षालाई ध्यानमा राख्दै राजमार्गमा सवारी आवागमन रोकिएको थियो। पानीको सतह घटेपछि सुरक्षा अवस्था मूल्याङ्कन गरी यातायात सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
राजमार्ग खुलेसँगै विभिन्न स्थानमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्। प्रहरीले यात्रु तथा चालकलाई सावधानी अपनाएर यात्रा गर्न आग्रह गरेको छ।
गत वर्ष रोशी खोलाको बाढीले बिपी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएपछि हाल अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन हुँदै आएको छ। वर्षायाममा खोलाको बहाव जुनसुकै बेला बढ्न सक्ने भएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।
३१ असार २०८३, मङ्गलबार ०१:१८ मा प्रकाशित