रजहर पुग्यो ‘शान्तिका लागि साइकल यात्रा’

bmn.news

काठमाडौं । विश्व शान्ति, सहअस्तित्व र समग्र मानव कल्याणको उच्च सन्देश प्रवाह गर्ने उद्देश्यसहित आयोजना गरिएको ‘शान्तिका लागि साइकल यात्रा’ बुधबार रजहर आइपुगेको छ। २५७० औँ बुद्ध पूर्णिमाको पावन अवसर पारेर ‘युनिभर्सल पिस स्याङ्चुरी’द्वारा आयोजित यस यात्राले देशव्यापी रूपमा शान्ति, करुणा र सचेतनाको सन्देश फैलाउँदै अघि बढिरहेको छ।

वैशाख १५ गते ऐतिहासिक एवं आध्यात्मिक स्थल स्वयंभुबाट सुरु भएको पाँचदिने यस यात्रामा सहभागीहरूले शारीरिक परिश्रमसँगै आध्यात्मिक यात्राको अनुभूति गरिरहेका छन्। पहिलो दिन हेटौंडामा बास बसेका यात्रुहरू दोस्रो दिन नवलपरासीस्थित रजहर पुगेका हुन्, जहाँ उनीहरूलाई स्थानीय पिप्रहर सामुदायिक होमस्टेमा आत्मीय स्वागतसहित बसोबासको व्यवस्था गरिएको थियो। स्थानीय समुदायको आतिथ्यता र सहकार्यले यात्रालाई अझ अर्थपूर्ण बनाएको सहभागीहरूले बताएका छन्।

साइकल यात्राले केवल दूरी पार गर्ने मात्र नभई मानिस–मानिसबीचको सम्बन्ध सुदृढ गर्ने, समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने र विश्वमा व्याप्त द्वन्द्व, हिंसा र अशान्तिका विरुद्ध सचेत सन्देश दिने लक्ष्य बोकेको छ। सहभागीहरूका अनुसार, प्रत्येक पेडलसँगै उनीहरूले शान्ति, प्रेम र करुणाको भावना फैलाउने प्रयास गरिरहेका छन्।

यात्राका संयोजक देवेन्द्र बस्न्यातका अनुसार, टोली बिहीबार भैरहवा पुग्नेछ भने शुक्रबार भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रमसहित यात्रा समापन गरिनेछ। “लुम्बिनीमा पुगेर हामी सबैले विश्व शान्तिको कामना गर्दै सामूहिक ध्यान तथा दीप प्रज्वलन गर्नेछौं,” उनले भने, “यो यात्रा केवल शारीरिक यात्रामात्र होइन, आत्मशुद्धि र चेतनाको यात्रासमेत हो।”

यात्राको अन्तिम दिन ध्यान कार्यक्रमपछि धर्मगुरु श्याल्पा तेन्जिन रिम्पोछेको बहुप्रतीक्षित कृति ‘Path to Perfect Freedom’ को नेपाली अनुवाद ‘पूर्ण मुक्तिको मार्ग’ लोकार्पण गरिने कार्यक्रम तय गरिएको छ। यस पुस्तकले आन्तरिक स्वतन्त्रता, मानसिक शान्ति र आध्यात्मिक उन्नतिको मार्गदर्शन गर्ने विश्वास आयोजकको छ।

धर्मगुरु श्याल्पा तेन्जिन रिम्पोछेको आह्वानमा आयोजना गरिएको यो यात्रा आजको अशान्त विश्वमा शान्ति, सहिष्णुता र मानवीय मूल्यहरूको पुनःस्थापनाका लागि प्रेरणादायी अभियानका रूपमा हेरिएको छ। पछिल्लो समय विश्वका विभिन्न भागमा देखिएका युद्ध, द्वन्द्व र असहिष्णुताका घटनाबीच यस्तो अभियानले मानिसहरूलाई एकआपसमा जोड्ने र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

समग्रमा, ‘शान्तिका लागि साइकल यात्रा’ एक कार्यक्रम नभई समाजलाई करुणा, मैत्री र सहअस्तित्वतर्फ डोर्याउने एक सशक्त सन्देश बोकेको अभियानका रूपमा स्थापित हुँदै गएको छ।

प्रतिक्रिया