एन्फा महिला लिगमा एपीएफले पुलिसलाई हरायो

काठमाण्डाै  एन्फा महिला लिग फुटबलको दोस्रो चरणको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ ।

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा आज भएको खेलमा एपीएफले पुलिसलाई २–० गोलले हरायो । योसँगै एपीएफ लगातार ७ खेल जित्दै २१ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । पुलिस ८ खेलमा ११ अङ्कसहित तेस्रो स्थानमा छ ।

एन्फा महिला लिगमा प्लेअफ समीकरण पूरा भइसकेको छ । प्रतियोगिताको क्वालिफायर–१ मा शीर्ष स्थानको एपीएफ र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लब खेल्नेछन् । यो खेल आउँदो शनिवार बिहान १० बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ ।

यसअघि शुक्रवार दिउँसो २ बजे इलिमिनेटरमा तेस्रो स्थानमा पुलिस र चौथो स्थानको बाग्मती युथ क्लब खेल्नेछन् । यो खेल एन्फा कम्प्लेक्समा हुनेछ । क्वालिफायर–१ मा जित्ने टोली सिधै फाइनलमा पुग्नेछ । क्वालिफायर–१ मा हार्ने टोलीले इलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि क्वालिफायर– २ मा आउँदो सोमवार बिहान १० बजे दशरथ रङ्गशालामा खेल्नेछ । फाइनल खेल माघ १६ गते बुधवार दिउँसो ४ बजे दशरथ रङ्गशालामा हुनेछ ।

प्लेअफअघि अब २ खेल बाँकी छ । भोलि बाग्मती युथ र वालिङ तथा पर्सि आर्मी र एपीएफ खेल्दैछन् । वालिङ यसअघि नै बाहिरिइसकेको छ ।

प्रतिक्रिया