काठमाण्डाै। कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित ७ जनाको बयान सकिएको छ ।
कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार आज रविसहित मुद्दा दर्ता भएका सात जनाकै बहस सकिएको हो । आजैबाट थुनछेक बहस पनि सुरु हुने खनालले जानकारी दिए ।
रविसहित गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान लियएको हो ।
सबै प्रतिवादीहरूको बयान सकिएसँगै आजैबाट थुनछेक बहस थालिएको हो । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ ।
यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।