आज साउने संक्रान्ति तथा साउन महिनाको शुभारम्भ, श्रद्धा, उत्साह र परम्पराअनुसार पर्व मनाइँदै

bmn.news

काठमाडौँ:- आज देशभर साउने संक्रान्ति पर्व श्रद्धा, उत्साह र परम्पराअनुसार मनाइँदै छ। सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी गरिन्छ।

असार महिनाभर धान रोपाइँमा व्यस्त रहेका किसानहरूले हिलो–मैलो पखाली परिवार र आफन्तसँग रमाइलो गर्दै परिकारको स्वाद लिई यो पर्व मनाउने चलन रहिआएको छ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ ।

साउने संक्रान्तिका दिन छालासम्बन्धी रोगबाट बच्न (लुतो फाल्ने) परम्परा पनि प्रचलित छ। कागभ्लायो, कुकुरडाइनो, लुप्सी, झार, पानीअमला, कागती, अम्बा, नासपाती लगायतका वनस्पति प्रयोग गरी अगुल्टो फाल्ने तथा शंख फुक्ने, घण्टा बजाउने, नाङ्लो ठट्याउनेजस्ता चलनले रोगव्याधि टाढा हुने जनविश्वास छ।

आजबाट साउन महिना पनि सुरु भएकाले हिन्दू धर्मावलम्बीहरू भगवान शिवको आराधनामा समर्पित हुन्छन्। विशेषगरी महिलाहरूले हरियो चुरा, रातो वा पहेँलो पहिरन, मेहेन्दी लगाई प्रत्येक सोमबार व्रत बसेर शिवपूजा गर्ने परम्परा छ।

सउन महिनाभर देशभरका शिवालय, विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ। यस अवसरमा पशुपतिनाथसहित विभिन्न शिवालयमा विशेष पूजा–आराधनाको व्यवस्था गरिएको छ।

प्रतिक्रिया