रौतहटमा दर्ता नगरी अस्पताल सञ्चालन गर्ने व्यक्ति पक्राउ

काठमाण्डाै  रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रनिगाहपुरमा लामो समयदेखि अवैधरूपमा अस्पताल सञ्चालन गर्दै आइरहेका एक जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

अस्ति शनिवार मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा दर्ता नै नभएको भेटिएको सिभिल हुम्यन एन्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुरका सञ्चालक राजन साहलाई प्रहरीले आज पक्राउ गरेको हो ।

अस्पताललाई मुख्यमन्त्री सिंहसहितको अनुगमन टोलीले दर्ता गरेर मात्रै सञ्चालन गर्न पत्र दिएको थियो । तर पत्रको अवज्ञा गरेर साहले अस्पताल खोलेको कारण पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।

मुख्यमन्त्री सिंहले गएको शनिवार चन्द्रनिगापुरको ११ वटा निजी अस्पतालको अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा १० वटा अस्पताल दर्ता नभएको भेटिएको थियो । ११ वटामध्ये चन्द्रपुर अस्पताल प्रालिले मात्रै अस्पताल सञ्चालनको अनुमति लिएको भेटिएको अनुगमन समितिका सदस्य सचिव सन्तोष ठाकुरले जानकारी दिनुभयो ।

एक महिनाअघि धनुषाको मुस्कान अस्पतालमा पत्थरीको शल्यक्रिया गरेका बिरामीको २० दिनसम्म पनि होस् नआएको घटना बाहिरीएपछि मुख्यमन्त्री सिंहले प्रदेशमा सञ्चालित स्वास्थ्य संस्थाहरूको अनुगमनलाई तीव्र पार्नुभएको हो । अनुगमनका क्रममा धेरैजसो अस्पताल दर्ताविना नै सञ्चालन भइरहेको पाइएको छ ।

प्रतिक्रिया