काठमाडौं:-ट्रोलियम पदार्थको मूल्य बढ्दा सरकारको चर्को आलोचना गर्ने राजनीतिक दल, विभिन्न संघ–संस्था तथा सरोकारवालाहरू अहिले मूल्य उल्लेखनीय रूपमा घट्दा भने मौन देखिएका छन्।
नेपाल आयल निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलियम पदार्थको
मूल्यमा उल्लेख्य कटौती गर्ने निर्णय गरेको छ। नयाँ निर्णयअनुसार पेट्रोलमा
प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँले मूल्य
घटाइएको छ। साथै, खाना पकाउने एलपी
ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँले
मूल्य घटाइएको निगमले जनाएको छ।
नयाँ मूल्यसूचीअनुसार काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेल
प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ। यसअघि यी क्षेत्रमा पेट्रोल २१७ रुपैयाँ र
डिजेल २२५ रुपैयाँ प्रतिलिटर थियो।
त्यसैगरी, चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज,
भलवारी, नेपालगन्ज, धनगढी र
वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १९४.५० रुपैयाँ तथा डिजेल १९२.५० रुपैयाँ
निर्धारण गरिएको छ। सुर्खेत र दाङमा पेट्रोल १९६ रुपैयाँ र डिजेल १९४ रुपैयाँ
प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ।
खाना पकाउने १४.२ किलोग्रामको एलपी ग्यास अब प्रतिसिलिन्डर २,०६० रुपैयाँमा उपलब्ध हुनेछ। यसअघि यसको मूल्य
२,१६० रुपैयाँ थियो।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको
परिवर्तन तथा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा
स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको हो।