काठमाण्डाै । जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको फाइनल खेलको पहिलो दिन नेपाल पुलिस क्लबले सुखद् शुरुवात गरेको छ । खराब मौसमका कारण खेल ढिलो शुरु भएको थियो ।
वीरगञ्जको नारायणी रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १७ ओभरमा दुई विकेट गुमाएर ८५ रन बनाएको छ । पुलिसका ओपनगर कुशल भुर्तेल ५० रनमा नटआउट छन् । यस्तै अमित श्रेष्ठ २० रन बनाएर आउट भए । आर्मीका सोमपाल कामी र शहाव आलमले समान एक विकेट लिए ।
फाइनल खेल तीन दिवसीय संरचनामा हुनेछ । चार टोली सहभागी प्रतियोगिताको लिग चरणका खेल भने दुई दिवसीय संरचनामा भएका थिए ।
प्रतियोगितामा सहभागी चार वटा टोलीले समान तीन खेल खेलेका थिए । पुलिसले खेलेको तीन खेलमध्ये दुईमा जीत हात पारेको थियो भने एउटा खेल बराबरीमा टुङ्गिएको थियो । तीन खेलमा पुलिसले ६६ अङ्क हासिल गरी शीर्ष स्थान रह्यो । आर्मी तीन खेलमा एउटामा विजयी हुँदा दुई वटा खेल बराबरीमा टुङ्गिएको थियो । ५५ अङ्कका साथ आर्मी दोस्रो स्थानमा रहेर पुलिससँग फाइनल खेलिरहेको हो । बाग्मती र मधेश प्रदेशले तीन खेलमध्ये एउटा पनि जित्न सकेनन् ।