वर्षाले अवरुद्ध बीपी राजमार्ग पूर्णरूपमा सञ्चालन

काठमाण्डाै  काभ्रेपलाञ्चोकको बीपी राजमार्ग पूर्णरूपमा सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण हिजो बेलुकादेखि अवरुद्ध भएको बीपी राजमार्ग अहिले पूर्णरूपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मङ्गलटारले जनाएको छ ।

हिजो माम्ती भन्ने ठाउँमा रोशी खोलाको बाढीले डाइभर्सन बगाएको थियो । बगाएको डाइभर्सन पुरिएको र खोला डाइभर्ट गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अस्थायी डाइभर्सन बनाएर गाडी चल्न सक्ने बनाइएको छ ।

यसैबीच काभ्रको पनौती नगरपालिका–५ मा रहेको ढलमल खोलामा आएको बाढीमा परेर बेपत्ता भएकी महिलाको खोजी भइरहेको छ । हिजो बेलुका खोलामा आएको बाढीमा परेर ३५ वर्षीया रेनुका गिरी बेपत्ता हुनुभएको थियो ।

गिरीको खोजीका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ । खेतबारीबाट काम गरी घर फर्कने क्रममा उहाँलाई बाढीले बगाएको हो ।

प्रतिक्रिया