उपत्यकामा ट्राफिक निगरानी कडा, एकै दिन २ हजार ४०८ चालक कारबाहीमा

bmn.news

काठमाडौं: काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध ट्राफिक प्रहरीले निगरानी तीव्र बनाएको छ। पछिल्लो २४ घण्टामा विभिन्न ट्राफिक कसुरमा २ हजार ४०८ चालक कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीबाट ४ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउने १४० जना, नियमविपरीत राइड सेयरिङ गर्ने ११६ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १३८ जना तथा तीव्र गतिमा सवारी चलाउने २८४ जना चालकलाई कारबाही गरिएको छ।

त्यसैगरी लेन अनुशासन पालना नगर्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, सडक पेटीमा पार्किङ गर्ने, एकतर्फी सडकमा सवारी चलाउनेलगायत विभिन्न नियम उल्लङ्घन गर्ने एक हजारभन्दा बढी चालक पनि कारबाहीको दायरामा परेका छन्।

ट्राफिक प्रहरीले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया