प्रधानमन्त्रीको सचिवालयबाट आश्वासन पाएपछि चिया उद्योग खुले, उद्योगीको आन्दोलन फिर्ता

bmn.news

काठमाडौँ:- नेपाल चिया उत्पादक संघले निर्यात समस्याको समाधानका लागि सरकारबाट सकारात्मक पहल भएको भन्दै बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। संघका अनुसार झापाका ३० वटा सीटीसी चिया उद्योग बिहीबारदेखि पुनः सञ्चालनमा आउनेछन्।

चिया निर्यातमा देखिएको समस्याका कारण संघले असार १ गतेदेखि उद्योगहरू बन्द गर्दै आएको थियो। भारतीय चिया बोर्डले लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर ९एसओपी० का कारण नेपाली चियाको भारत निर्यात प्रभावित भएपछि झापा र इलामका उद्योगहरू संकटमा परेका थिए।

निर्यात अवरोध हटाउन सरकारको ध्यानाकर्षण गराउँदा पनि समयमै पहल नभएको भन्दै व्यवसायीहरूले उद्योग बन्द गर्ने निर्णय गरेका थिए। तर पछिल्लो समय सरकारले चिया निर्यातमा देखिएका प्राविधिक तथा प्रशासनिक समस्या समाधान गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने प्रतिबद्धता जनाएपछि व्यवसायीहरू उद्योग सञ्चालन गर्न सहमत भएका हुन्।

प्रधानमन्त्रीको सचिवालयमार्फत चिया क्षेत्रका समस्याबारे छलफल गरी निर्यात सहज बनाउन र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि विशेष कार्यदल गठन गर्ने आश्वासन दिइएको बताइएको छ। त्यसपछि उद्योगीहरू आन्दोलन स्थगित गर्दै उत्पादन प्रक्रिया पुनः सुरु गर्न तयार भएका छन्।

उद्योग पुनः सञ्चालन भएसँगै रोकिएको चिया उत्पादन र प्रशोधन कार्य पुनः नियमित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया