काठमाडौं । बेलायतका एक सय ६० जनाभन्दा धेरै राजनीतिज्ञले आउँदो महिना हुने आईसीसी च्याम्पियन्स ट्रफीमा अफगानिस्तानसँगको खेल बहिष्कार गर्न इङ्गल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) लाई आग्रह गरेका छन् ।
सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान सरकारले महिलाहरूमाथि विभेद गरेको भन्दै बेलायतका राजनीतिज्ञहरूले आफ्नो टोलीले अफगानिस्तानसँगको खेल बहिष्कार गर्नुपर्ने बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका जनाएका छन् ।
च्याम्पियन्स ट्रफीको नवौं संस्करण आउँदो फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुँदैछ । यो प्रतियोगितामा इङ्गल्यान्ड र अफगानिस्तान एउटै समूहमा परेका छन् । समूह ‘बी’ मा रहेका इङ्गल्यान्ड र अफगानिस्तानबीचको खेल फेब्रुअरी २६ तारिखमा पाकिस्तानको लाहोरमा हुने तालिका छ ।
तर बेलायतका राजनीतिज्ञहरूले इङ्गल्यान्डको टोलीलाई अफगानिस्तानसँगको खेल बहिष्कार गर्न सुझाव दिँदै ईसीबीलाई पत्र पठाएका हुन् । उनीहरूले च्याम्पियन्स ट्रफीमा अफगानिस्तानसँगको खेल बहिष्कार गर्न ईसीबीलाई दबाब दिँदै आएका छन् ।
लेबर पार्टीकी सांसद टोनिया एन्टोनियाजीले अफगानिस्तानमा महिला र बालिकाहरूमाथि भइरहेको दुव्र्यवहारविरुद्ध बोल्न पत्रमार्फत इङ्गल्यान्डका खेलाडी र अधिकारीहरूलाई आग्रह गर्नुभएको छ ।
अफगानिस्तानमा तालिबान सरकारले महिला र बालिकाहरूमाथि गर्दै आएको व्यवहारको बेलायतसँगै अन्य देशले पनि विरोध गर्दै आएका छन् । यसैबीच इङ्गल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले समस्याको समाधान खोज्ने प्रयास गरिरहेको बताएको छ ।