काठमाडौँ :श्रम संस्कृति पार्टीका प्रदेश सदस्य तथा धरान उपमहानगरपालिकाको मेयर पदका आकांक्षी निनाचन्द्र राईसहित १०२ जनाले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत राईले पार्टी नेतृत्वबाट राजनीतिक धोका भएको आरोप लगाउँदै आफूहरू पार्टी छाड्न बाध्य भएको घोषणा गरे।
राईका अनुसार हर्क साम्पाङसँगको सहमतिअनुसार आफू मेयर उम्मेदवार बन्ने अपेक्षा थियो। तर पार्टीले धरान–४ का पूर्व वडाध्यक्ष धनबहादुर राईलाई मेयर उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्टि चुलिएको हो।
राईले हर्क साम्पाङले आफूलाई प्रदेशसभा उम्मेदवार तथा मन्त्री बनाउने आश्वासन दिएको दाबी गर्दै नेतृत्वले प्रतिबद्धताविपरीत निर्णय गरेको आरोप लगाए। उनले अब आगामी स्थानीय तह निर्वाचनमा मेयर, उपमेयरसहित धरानका २० वटै वडामा स्वतन्त्र उम्मेदवार उठाउने तयारी भइरहेको जानकारी दिए।
२०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा धरानको मेयर बनेका हर्क साम्पाङले पछि श्रम संस्कृति पार्टी गठन गरेका थिए।