काठमाडौं । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते मानवता विरोधी अपराधको आरोपमा पक्राउ परेका छन् । ७९ वर्षीय दुतेर्ते आज हङकङबाट फर्किने क्रममा राजधानी मनिला अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् ।
सन् २०१६ मा सत्ता सम्हाल्दा उनले लागूऔषध कारोबारविरुद्ध कठोर नीति अपनाएका थिए । उनको लागूऔषधविरुद्धको कारबाहीका क्रममा हजारौं लागूऔषध प्रयोगकर्ता र व्यापारीहरू मारिएका थिए । यसबारे अन्तर्राष्ट्रिय फौजदारी अदालतले अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ ।
यसमा दोषी देखिएका सीमित व्यक्तिहरू प्रक्राउ परे पनि पूर्वराष्ट्रपति दुतेर्तेले उन्मुक्ति पाउँदै आएका थिए । सन् २०२२ मा सत्ताबाट बाहिरिए पनि उनी फिलिपिन्समा एक प्रभावशाली राजनेता मानिन्छन् ।
दुतेर्ते हङकङमा आउँदो मध्यावधि चुनावका लागि आफू समर्थित उम्मेदवारको प्रचार र्यालीमा सहभागी हुन पुगेका थिए । त्यहाँबाट फर्किएपछि उनलाई विमानस्थलबाट पक्राउ गरिएको खबरमा उल्लेख छ ।