तीन महिनादेखिको संघर्षपछि सुजन बिकले गृहमन्त्रीसँग राखे न्यायको माग, छानबिनको प्रतिबद्धता

bmn.news


काठमाडौं”: लामो समयदेखि न्यायको माग गर्दै सडक संघर्षमा रहेका चितवन रत्ननगरका सुजन बिकले अन्ततः सिंहदरबार पुगेर गृहमन्त्री सुधन गुरुङसमक्ष आफ्नो पीडा र माग राखेका छन्।

दिवंगत श्रीमतीको न्यायका लागि विगत तीन महिनादेखि काठमाडौंका सडकमा धर्ना दिँदै आएका बिकलाई गृहमन्त्री गुरुङले मन्त्रालयमै बोलाएर भेट गरेका हुन्। नवजात शिशुलाई काखमा च्यापेर गृहमन्त्रीको कार्यकक्ष पुगेका बिकले अस्पतालको लापरवाहीका कारण श्रीमतीको ज्यान गएको दाबी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरे।

सुत्केरी अवस्थामा अस्पतालले आवश्यक हेरचाह र उपचारमा गम्भीर लापरवाही गरेको आरोप लगाउँदै बिकले आफूले जीवनसाथी गुमाउनुपरेको र अहिले नवजात शिशुको भविष्यसमेत अन्योलमा परेको भन्दै सरकारसँग न्यायको अपिल गरे।

पीडित बिक र उनको शिशुको अवस्था देखेपछि गृहमन्त्री गुरुङले परिवारको पीडा ध्यानपूर्वक सुनेका थिए। उनले घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले गम्भीरतापूर्वक काम गर्ने र दोषी देखिए कानुनी कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे।

गृहमन्त्री गुरुङले मन्त्रालयका सम्बन्धित अधिकारीलाई घटनाबारे तत्काल छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। छानबिनबाट प्राप्त निष्कर्षका आधारमा दोषीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।

प्रतिक्रिया