काठमाडौँ । हिन्दु धर्मावलम्बीहरूले भगवान् शिवको अत्यन्त प्रिय मानिने साउन महिनाको पहिलो सोमबार आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन्। पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ।
सनातन
परम्पराअनुसार साउनको प्रत्येक सोमबार व्रत, पूजा–आराधना, जलाभिषेक, जप, तप तथा दान–पुण्य गर्ने चलन छ।
श्रद्धापूर्वक शिवको आराधना गर्दा मनोकामना पूरा हुने, मानसिक शान्ति प्राप्त हुने तथा
परिवारमा सुख, शान्ति
र समृद्धि आउने धार्मिक विश्वास छ।
पुराणअनुसार समुद्रमन्थनका क्रममा
निस्किएको कालकूट विष भगवान् शिवले ग्रहण गरेपछि विषको ताप कम गर्न देवताहरूले जल
अर्पण गरेको स्मरणमा साउनभर शिवलिङ्गमा जल चढाउने परम्परा सुरु भएको मानिन्छ। यस
अवसरमा पशुपतिनाथ, डोलेश्वर
महादेव, हलेसी महादेवलगायत
देशभरका शिवालयमा भक्तजनले जल, बेलपत्र,
धतुरो, फूल तथा फलफूल अर्पण गरी पूजा–आराधना
गरिरहेका छन्।