प्रधानमन्त्री कप महिला क्रिकेटमा कर्णालीमाथि एपीएफको फराकिलो जीत

काठमाण्डौ  प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी शुरुवात गरेको छ । आज भएको दोश्रो खेलमा एपीएफले कर्णाली प्रदेशलाई एक सय ११ रनले हरायो । एपीएफले दिएको एक सय ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा सात विकेट गुमाएर ७१ रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि दिक्षा पुरीले सबैभन्दा धेरै १७ रन बनाइन् । यस्तै गौरी बोहोराले अविजित र रमा बुढाथोकीले समान १० रन बनाए । एपीएफकी करुणा भण्डारीले तीन विकेट लिइन् । यस्तै रेखा रावल, सुमन विष्ट र बिनु बुढाले समान एक विकेट लिए ।

त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा एक विकेट गुमाउँदै एक सय ८२ रन बनाएको थियो । एपीएफका लागि ममता चौधरी सबैभन्दा धेरै अविजित ७५ रन बनाइन् । यस्तै कप्तान इन्दु बर्माले अविजित ५२ र राजमति ऐरीले २२ रन बनाइन् । कर्णालीकी दिक्षा पुरीले एक विकेट लिइन् । यो जीतसँगै एपीएफ दुई अङ्क जोड्न सफल भएको छ ।

आजै भएको उद्घाटन खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई सात विकेटल हरायो । प्रतियोगितामा सात वटा प्रदेश तथा दुई विभागीय टोली एपीएफ र आर्मी सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै सशस्त्र प्रहरी बलको एपीएफ क्लब रहेका छन् । समूह ‘बी’ मा कोशी, बाग्मती र मधेश प्रदेशका साथै त्रिभुवन आर्मी क्लब रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को कार्ययोजना, नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता गरिएको हो । प्रतियोगिता यही माघ १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा पहिलो हुनेले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया