बालेनले प्रचार गरेको डीडीसी अब रास्वपा महाधिवेशनमा, आगन्तुकलाई १० प्रतिशतसम्म छुट

bmn.news

चितवन :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी) का दुग्धजन्य उत्पादनहरूको विशेष बिक्री कक्ष सञ्चालनमा ल्याइएको छ।

भरतपुरस्थित महाधिवेशन स्थलमा स्थापना गरिएको बिक्री केन्द्रमा डीडीसीका करिब २० प्रकारका उत्पादनहरू बिक्रीका लागि राखिएका छन्। डीडीसीका चितवनसमेत हेर्ने बिजनेस डेभलपमेन्ट अफिसर चिरन्जीवी बस्नेतका अनुसार उत्पादनहरूमा ५ देखि १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

महाधिवेशनमा सहभागी प्रतिनिधि, आगन्तुक तथा सर्वसाधारणलाई लक्षित गर्दै बिक्री केन्द्र सञ्चालन गरिएको डीडीसीले जनाएको छ। बिक्री कक्षमा दूध, दही, घ्यु, मही, पनिर, चिज, आइसक्रिम, दूध पाउडर, खुवा लगायतका विभिन्न दुग्धजन्य सामग्री उपलब्ध छन्।

यसअघि रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत डीडीसीको चिजसहितका उत्पादनहरूको तस्बिर सार्वजनिक गरेपछि ती सामग्री चर्चामा आएका थिए। त्यसको केही दिनपछि मन्त्रिपरिषद् बैठकमा समेत डीडीसीका उत्पादनहरू राखिएको तस्बिर सार्वजनिक भएको थियो।

वि.सं. २०२१ सालमा कम्पनी ऐन अन्तर्गत स्थापना भएको दुग्ध विकास संस्थान (डीडीसी) पूर्ण रूपमा नेपाल सरकारको स्वामित्वमा रहेको संस्था हो। संस्थानले देशभरका किसानबाट दूध खरिद गरी विभिन्न दुग्धजन्य उत्पादनको उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ।

 

प्रतिक्रिया