काठमाडौं । सल्यानमा आफ्नै दुई छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्।
बनगाड कुपिण्डे नगरपालिका–११ बस्ने २६ वर्षीया पूर्णिमा रानामगरले आफ्नै ३ वर्षीया छोरी करिष्मा रानामगर र ६ महिनाकी छोरी राघवी रानामगरको घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश क्षेत्रीले बताए।
उनले श्रीमानसँग झगडा हुँदा रिसको झोंकमा बच्चाहरूलाई मारेको बयानमा भनेकी छन्। उनका श्रीमान कामको शिलशिलामा नुवाकोटमा छन्। बुधबार बिहान साढे १० बजे तिर उनले श्रीमानसँग फोनमा कुरा गरेकी थिइन्। त्यही क्रममा उनीहरूबीच झगडा भएको उनले बताइन्।
‘कुरा गर्दागर्दै श्रीमानसँग झगडा भयो। त्यसपछि मैले रिसको झोंकमा उनीहरूको हत्या गरेँ। उनीहरूलाई पनि मार्ने र आफू पनि मर्ने भन्दै पहिला बच्चालाई मारेँ। तर आफू मर्न भने सकिनँ,’ उनले बयानमा भनेकी छन्। बिहान घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।