२४ घण्टामा २ हजार २९९ चालक कारबाहीमा, २३ लाखभन्दा बढी राजस्व संकलन

bmn.news

काठमाडौँ : काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २९९ सवारीचालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा २३ लाख ७१ हजार ४२ रुपैयाँ राजस्व संकलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी चलाउने ११९ चालक कारबाहीमा परेका छन्। यस्तै, नियमविपरीत ‘राइड सेयरिङ’ सञ्चालन गर्ने १६० जना, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १३४ जना तथा तीव्र गतिमा सवारीसाधन चलाउने ११८ जनालाई समेत जरिवाना गरिएको छ।

त्यसैगरी, ‘लेन’ अनुशासन उल्लङ्घन गर्ने ११४ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ९४ जना, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२० जना तथा एकतर्फी सडकमा सवारी चलाउने १४४ जना चालक कारबाहीको दायरामा परेका छन्।

प्रहरीका अनुसार ट्राफिक नियमको बेवास्ता गर्ने तथा अन्य विभिन्न कसुरमा संलग्न एक हजारभन्दा बढी चालकलाई समेत कारबाही गरिएको छ।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न, दुर्घटना न्यूनीकरण गर्न तथा सुरक्षित यातायात व्यवस्था सुनिश्चित गर्न नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ। नियम पालना गरी सुरक्षित यात्राको वातावरण बनाउन सबै सवारीचालकलाई सचेत रहन पनि प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया