राष्ट्रपति कार्यालयबाट चोरी भएका हात्तीका दाह्रा ९ महिनापछि बरामद, ६ जना पक्राउ

bmn.news

काठमाडौं : राष्ट्रपति कार्यालय शीतल निवासको भित्तामा सजाएर राखिएका दुर्लभ हात्तीका दुई थान दाह्रा चोरी भएको करिब नौ महिनापछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति नयाँ बसपार्क र मनमैजु क्षेत्र केन्द्रित विशेष अपरेशन सञ्चालन गरी केही व्यक्तिलाई चोरी भएका दाह्रासहित नियन्त्रणमा लिएको हो।

प्रहरी अनुसन्धानका अनुसार गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासमा व्यापक तोडफोड तथा आगजनी भएको थियो। नेपाली सेनाको चौबीसै घण्टा सुरक्षा व्यवस्थाबीच भएको उक्त प्रदर्शनका क्रममा प्रदर्शनकारीले कार्यालयभित्र रहेका विभिन्न सामग्रीमा क्षति पुर्‍याएका थिए।

घटनाका बेला राष्ट्रपतिले प्रयोग गर्ने कुर्सीदेखि भित्तामा सजाइएका तस्बिरहरू समेत तोडफोड र आगजनीको निशानामा परेका थिए। यही अव्यवस्थित परिस्थितिको फाइदा उठाउँदै शीतल निवासको भित्तामा सजाइएका दुई थान हात्तीका दाह्रा चोरी भएको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूले चोरी गरिएका दाह्रालाई विभिन्न भागमा काटेर आ–आफ्नो घरमा सजावटका रूपमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले ती दाह्राका टुक्रासमेत बरामद गरेको जनाएको छ।

घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले हालसम्म पक्राउ परेकाहरूको नाम सार्वजनिक गरेको छैन। उनीहरूमाथि थप अनुसन्धान जारी रहेको र घटनासँग सम्बन्धित अन्य व्यक्तिको संलग्नता भए नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया