काठमाडौँ । सांसद एवं पूर्वमन्त्री प्रेम आलेलाई विश्व हिन्दु महासङ्घद्वारा प्रदान गरिने विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान गरिएको छ । विश्व हिन्दु महासङ्घद्वारा भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजित एक विशेष समारोहमा उनलाई हिन्दु धर्म संरक्षण एवं संवर्द्धनका अगुवा कालीबाबा शंकराचार्यसहित विश्व हिन्दु महासङ्घका पदाधिकारीहरूले सो अवार्ड प्रदान गरेका हुन् ।
विश्व हिन्दु महासङ्घले यो अवार्ड हरेक पाँच वर्षमा विश्वका विभिन्न देशका समाजसेवी, राजनीतिज्ञ, धर्मगुरु तथा सनातन हिन्दु धर्मको संरक्षण र संवर्द्धनमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई प्रदान गर्ने गर्दछ ।
हिन्दु धर्मको संरक्षण र संवर्द्धनका साथै सनातन हिन्दु धर्मावलम्बीहरूको सेवा तथा संरक्षणमा विशिष्ट योगदान गरेकाले पूर्वमन्त्री आलेसहित भारत तथा विश्वका विभिन्न देशका वरिष्ठ व्यक्तित्वहरूलाई यो अवार्ड प्रदान गरिएको हो ।
शुक्रबार आयोजित सो विशेष समारोहमा विश्वहिन्दू महासङ्घका अन्तर्राष्ट्रिय पदाधिकारीहरू, भारतका वरिष्ठ समाजसेवीहरू, नेपालका पूर्व उपराष्ट्रपति परमानन्द झासहित विभिन्न देशका वरिष्ठ प्रतिनिधिहरूसहितका विशिष्ट अतिथिहरूको उपस्थितिमा सो अवार्ड प्रदान गरिएको हो ।