ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गर्न – एसएसपी काफ्ले माग

bmn.news

काठमाडौं:- उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेशप्रसाद काफ्लेले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा तत्काल सुधार नगरे आगामी दुई वर्षभित्र सडकमा हिँड्नसमेत कठिन हुने चेतावनी दिएका छन्।

संसदको पूर्वाधार विकास समितिमा प्रस्तुति दिँदै उनले काठमाडौं उपत्यकामा दैनिक करिब २० लाख सवारी साधन सञ्चालन हुने गरेको तर ट्राफिक व्यवस्थापन अझै प्रविधिमैत्री बन्न नसकेको बताए।

एसएसपी काफ्लेका अनुसार नेपालमा हाल करिब ६५ लाख सवारी साधन दर्ता भएकामा काठमाडौँ उपत्यकामा मात्रै दैनिक औसत २० लाख सवारी साधन गुड्ने गरेका छन् । यति ठूलो सङ्ख्यामा रहेका सवारी साधन व्यवस्थापनका लागि देशभर जम्मा २५ सय देखि २६ सयको हाराहारीमा मात्रै ट्राफिक प्रहरी परिचालन हुनुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे ।

काफ्लेले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई ५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था आवश्यक रहेको उल्लेख गर्दै एआईमा आधारित एकीकृत ट्राफिक लाइट प्रणाली लागू गर्न सुझाव दिए। साथै, ड्यास क्याम अनिवार्य गर्ने, डिजिटल चेकपोस्ट स्थापना गर्ने, पुराना सवारी हटाउन स्क्र्याप नीति ल्याउने र ट्राफिक निगरानीमा ड्रोन तथा रोबोटको प्रयोग बढाउनुपर्नेमा जोड दिए।

उनले पूर्वाधार र प्रविधिमा लगानी नगरे भविष्यमा एम्बुलेन्ससमेत समयमै अस्पताल पुग्न नसक्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया