काठमाण्डौ । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले माध्यमिक तहको इतिहास र वातावरण विज्ञान विषयको पाठ्यक्रम थप समसामयिक र विद्यार्थीमुखी बनाउन पाठ्यक्रम विकास केन्द्रलाई १५ दिनभित्र स्वीकृतिका लागि सिफारिश गर्न निर्देशन दिएको छ ।
परिषद्का अध्यक्ष तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा हिजो बसेको बैठकले कक्षा ९ र १० को ती दुई विषयका पाठ्यक्रमका विषयवस्तुलाई दैनिक जीवनसँग जोडी स्थानीय विषयसँग तादाम्यता मिलाउन र विद्यार्थीको दृष्टिकोणबाट पाठ्यक्रम निर्माण गर्नेलगायत सुझाव समेट्नुपर्ने निष्कर्ष निकाल्दै यस्तो निर्देशन दिएको हो ।
बैठकमा सहभागी शिक्षा क्षेत्रका विज्ञहरूले युवाहरूलाई देशप्रति सकारात्मक भावना विकास गराउने र नेपालको सभ्यताको इतिहासबारे थप प्रष्ट हुने गरी पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।
वातावरण विज्ञानको पाठ्यक्रममा नेपालको विविधता संरक्षण, हिमाल पग्लने, चुरे विनास र जलवायु परिवर्तनले नेपालमा पारेका असरलाई विद्यार्थीले बुझ्ने र त्यसको समाधानमा कसरी योगदान गर्न सकिन्छ भन्ने विषयसमेत पाठ्यक्रममा समावेश गर्न विज्ञहरुको सुझाव छ ।
यस्तै बैठकले मातृभाषातर्फ आधारभूत तह (कक्षा ६–८) को चाम्लिङ भाषाको पाठ्यक्रम स्वीकृतिका लागिसमेत सिफारिश गरेको छ ।