आज असार १५, दही चिउरा खानेदिन मानो खाएर मुरी उब्जाउने बेला

bmn.news

काठमाडौं;- प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा दही–चिउरा पर्व आज देशभर खेतमा धान रोपेर र दही–चिउरा खाएर मनाइँदैछ। कृषकहरू खेतमा व्यस्त रहेर धान रोपाइँ गरिरहेका छन् भने अन्य पेसा तथा व्यवसायमा आबद्ध नेपालीहरूले पनि दही–चिउरा खाएर यस पर्वलाई मनाइरहेका छन्।

परम्पराअनुसार असारको व्यस्त खेतीपातीका क्रममा थकान मेट्न र शरीरमा शक्ति सञ्चय गर्न दही–चिउरा खाने चलन रहिआएको छ। दहीले शरीरलाई शीतलता प्रदान गर्ने र पाचन प्रणालीलाई सुदृढ बनाउने विश्वास गरिन्छ। नेपाली समाजमा दहीलाई शुभकार्यको प्रतीकका रूपमा पनि लिइन्छ। घरबाट महत्त्वपूर्ण कामका लागि निस्कँदा वा विदेश जाँदा दही–अक्षता लगाउने तथा सगुनका रूपमा दही खुवाउने परम्परा आज पनि प्रचलित छ।

स्वास्थ्यका दृष्टिले पनि दहीलाई लाभदायक मानिन्छ। आयुर्वेदमा भोजनपछि दही मथेर बनाइएको मोही सेवन गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुने उल्लेख गरिएको छ। पाचन शक्ति बढाउन र पखालाका बेला पनि दही उपयोगी हुने विश्वास छ।

नेपालमा राष्ट्रिय धान दिवस विसं २०६२ सालदेखि मनाउन थालिएको हो। विसं २०६१ मङ्सिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने व्यवस्था गरिएको थियो। कृषिप्रधान मुलुक नेपालमा धान प्रमुख खाद्यान्न बाली भएकाले यस दिवसलाई विशेष महत्वका साथ मनाइन्छ।

असार महिनामा किसानहरू वर्षभरिका लागि खाद्यान्न उत्पादन गर्ने तयारीमा व्यस्त हुन्छन्। यस अवसरमा खेतमा असारे भाका गुञ्जाउँदै हिलोमा धान रोप्ने, हिलो खेल्ने तथा सामूहिक रूपमा रमाइलो गर्ने परम्परा पनि कायम छ।

यद्यपि यस वर्ष असारको मध्यसम्म पनि देशका धेरै क्षेत्रमा पर्याप्त वर्षा हुन नसकेका कारण अपेक्षित मात्रामा धान रोपाइँ हुन सकेको छैन। कतिपय किसानले रासायनिक मल अभावको गुनासो गरेका छन्। यद्यपि कृषि, वन तथा वातावरण मन्त्रालयले आवश्यक परिमाणमा रासायनिक मलको मौज्दात रहेको जनाएको छ।

प्रतिक्रिया