चितवन;- चितवनमा आइतबारदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा एक दिन ढिलो गरी समापन हुने भएको छ।
प्रतिनिधिको संख्या अपेक्षाभन्दा बढी हुनु र व्यवस्थापनमा देखिएका चुनौतीका कारण महाधिवेशन भदौ १० गतेसम्म लम्बिने भएको हो।
महाधिवेशनको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाका सांसद तथा नेता मनिष झाले सुरुमा करिब ३ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको भए पनि हाल ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि उपस्थित भइसकेको बताए। उनका अनुसार प्रतिनिधिको संख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने सम्भावना छ।
झाले प्रवासबाट सहभागी हुने प्रतिनिधिको संख्या पनि अपेक्षाभन्दा निकै बढी रहेको बताए। उनका अनुसार विदेशबाट आउने प्रतिनिधि अनुमानभन्दा करिब चार गुणा बढी सहभागी भएका छन्।
उनले पहिलो राष्ट्रिय महाधिवेशन भएकाले केही व्यवस्थापकीय कमजोरी देखिएको स्वीकार गर्दै त्यसलाई सिकाइका रूपमा लिएको बताए। आगामी दिनमा यस्ता कमजोरी सुधार गर्दै संगठनलाई थप व्यवस्थित बनाउँदै लैजाने उनको भनाइ छ।