पर्सा- पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको पाइएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा एक सय ७४ जना कडा खालको कुपोषित बालबालिका फेला परेका महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तथा पोषण फाँट प्रमुख सुनिलकुमार कुर्मीले जानकारी दिनुभयो ।
ती कुपोषित बालबालिकामध्ये ५६ जनालाई महानगरपालिकाले सञ्चालन गरेको ओटिसी सेन्टरमा भर्ना गरी उपचार गरिएको छ । वीरगञ्ज महानगर क्षेत्रमा गएको आर्थिक वर्ष २०७८/७९ मा ४९ जना कुपोषित बालबालिका फेला परेका थिए ।
पाँच वर्षमुनिका कुपोषित बालबालिकालाई आवश्यक स्वास्थ्य जाँचसहित पोषणयुक्त खानाका लागि महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ देखि वीरगञ्ज स्वास्थ्यचौकीसहित बगही स्वास्थ्यचौकी र सिर्सिया स्वास्थ्यचौकीमा ओटिसी सेन्टर चलाउँदै आएको छ ।
गर्भवती हुँदा पोषणयुक्त खानाको अभाव, बालविवाहका कारण सानै उमेरमा बच्चा जन्माउनु, आमाले बच्चाको स्वास्थ्यमा ध्यान नदिनु, सही तरिकाले स्तनपान नगराउनुलगायतका कारण कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
कुुपोषणको समस्यालाई न्यूनीकरण गर्न महानगर क्षेत्रभित्र स्वास्थ्य स्वयंसेविकामार्फत वडा–वडामा सचेतनामूलक कार्यक्रमसँगै बालबालिका तथा सुुत्केरी आमालाई बालभिट्टा, लिटोलगायतका पोषणयुक्त खाना र गर्भवतीलाई आइरन चक्की वितरण गर्दै आएको प्रमुख कुर्मीको भनाइ छ ।
कुपोषण हुँदा बच्चा दुब्लाएर ख्याउटे हुने, आँखाभित्र गड्ने, हातखुट्टा राम्ररी नचल्ने, लामो समयसम्म निदाउने, झगडा गर्नेजस्ता लक्षण देखिने बालरोग विशेषज्ञ डा. सरोजकुमार यादव बताउनुहुन्छ ।