काठमाण्डौ- सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ ।
समितिले आज सूचना निकालेर प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस हुनुभएका कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो ।
समितिले कार्कीलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवम् प्रमाणसहित जेठ २६ गतेसम्म उजुरी दिन आग्रह गरेको छ ।
कार्यालय समयभित्र इमेलबाट वा सोझै समितिमा सूचना वा उजुरी दिन सकिने पनि समितिले जनाएको छ । समितिको हिजो बसेको बैठकले कार्कीको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।
गएको वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीश पद झण्डै १५ महिनादेखि रिक्त छ ।