काठमाण्डौ- कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारबाट कुनै निकास ननिस्कने भन्दै जसपाले स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाएको हो ।
आज बुधवार इटहरीमा बसेको प्रदेश समितिको बैठकले मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता बोलाएर समर्थन फिर्ता लिने निर्णय गरेको जसपाका नेता जयराम यादवले जानकारी दिनुभयो । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएकाले कोशीमा एमालेले नेतृत्वको सरकार कायमै छ । कोशी प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका छ, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टीका एक जना सांसद छन् । कोशी प्रदेशको सरकार परिवर्तनका लागि माओवादी र जनता समाजवादी पार्टीले पनि समर्थन फिर्ता लिन आवश्यक छ ।
यसैबीच कोशी प्रदेशका १४ वटा जिल्लाका नेपाली कांग्रेस सभापतिहरूले प्रदेशको नाम पुनर्विचार गर्न माग गरेका छन् । १४ जिल्लाका कांग्रेस सभापतिहरूले संयुक्त विज्ञप्ति निकालेर कोशी नाम पुनर्विचारका लागि पार्टी नेतृत्व र प्रदेश सभासँग विशेष आग्रह गरेका हुन् ।
प्रदेश सभाले कोशी नाम राखेपछि आन्दोलन भइरहेको भन्दै उनीहरूले विरोधको सुनुवाइ नेपाली कांग्रेसको नेतृत्वले गर्नुपर्ने बताएका छन् । प्रदेश सभा बैठकले गएको फागुन १७ गते कोशी प्रदेश नामकरणको प्रस्ताव दुई तिहाइ बहुमतले पारित गरेको थियो ।