काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको नारा अरू कुनै सरकारले बोक्न नसकेको बताएका छन्।
शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो सरकार हटेपछि अरूले समृद्ध नेपाल सुखी नेपालीको नारा कसैले बोक्ने आँट नगरेको बताएका हुन्।
‘हामी सरकारबाट हटेपछि समृद्ध नेपालः सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता हाम्रा विपक्षहरू कसैले पनि समृद्ध नेपाल भन्ने आँट गर्दैन। सुखी नेपाली भन्ने आँट गर्दैन। ह्वाट दे वान्ट ? समृद्ध नेपाल भन्ने जसको आँट छैन। भन्न सक्दैन,’ उनले भने।
उनले कुनै व्यक्ति नभई सिंगो समाजलाई माथि उठाउन आफूहरूले समृद्धिको एजेन्डालाई अघि बढाएको तर्क समेत गरे। छिटो विकास गर्न आफूहरूले समृद्धिको एजेन्डालाई अघि बढाएको पनि अध्यक्ष ओलीको भनाई थियो।
उनले गरिवी छिटो अन्त्य हुने गरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरूरी रहेको समेत बताए।