काठमाडौं- अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेका छन्।
सोमबार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरुबीच विवाद सिर्जना भएको हो।
एकपक्ष स्थानीयहरु वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपद्को बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स्थानीयहरु सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन्। स्थानीयहरुबीच नै विवाद हुँदा अहिले स्थिति तनावग्रस्त बनेको हो।
काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाको २९ नम्बर वडाको वडा कार्यालय बनाउन भत्काउन थालेको छ। अहिले महानगरपाकिलाले स्थानीयको विरोधका बीच डोजर चलाइरहेको छ। स्थानीयहरुले भने काठमाडौं महानगरपालिकाको विरोध गरिरहेका छन्। उनीहरुले महानगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी आवश्यक ठाउँमा वडा कार्यालय बनाउन पाउने तर विपद्को बेलामा उपयोग हुने जग्गा मिचेर वडा कार्यालय बनाउन नहुने उनीहरुको तर्क छ।
स्थानीयहरुले वडा कार्यालय बाहेकका अन्य कुनै पनि संरचना बनाउन महानगरपालिकालाई आफूहरुको समर्थन रहने प्रतिबद्धता जनाएका छन्। महानगरपालिकाले भने स्थानीयहरुको मागलाई बेवास्ता गर्दै सार्वजनिक जग्गामा डोजर चलाइरहेको छ।