दाङ- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि शुक्रबार बजेट ल्याउँदै छ।
दिउँसो ३ बजे बस्ने प्रदेशसभाको दोस्रो अधिवेशनको ११ औँ बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आर्थिक बजेट पेश गर्ने छन् । बजेट कटौती भएका कारण चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार घट्ने छ।
सरकारले झण्डै ४० अर्ब रूपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको बताइएको छ । चालु आर्थिक वर्षमा ४२ अर्ब बराबरको बजेट थियो ।
संघीय सरकारले आगामी आर्थिक वर्षको लागि लुम्बिनी प्रदेश सरकारलाई झण्डै ४ अर्ब बजेट कम छुट्याएको छ । चालु आर्थिक वर्षमा १८ अर्ब ४७ करोड ६४ लाख अनुदान प्राप्त भएको थियो । आगामी आर्थिक वर्षको लागि १५ अर्ब ३८ करोड ४२ लाख बजेट घटेर आएको छ।
चालू आर्थिक वर्षमा समानीकरणतर्फ ८ अर्ब ५४ करोड बजेट थियो । अहिले ८ अर्ब १४ करोड ८३ लाख रूपैयाँ बजेट प्राप्त भएको छ । सशर्ततर्फ ८ अर्ब ७१ करोड बजेट थियो। आगामी आर्थिक वर्षमा ५ अर्ब ८३ करोड ५९ लाख बजेट प्राप्त भएको छ ।
समपूरकतर्फ ७३ करोड ९० लाख बजेट थियो । आगामी आर्थिक वर्षको लागि ८४ करोड बजेट छ । विशेष अनुदानको लागि ८८ करोड ३५ लाख बजेट थियो ।
आगामी वर्ष ५६ करोड बजेट प्राप्त भएको छ । बजेटको आकार घटेसँगै योजना समेत साँघुरिने भएको छ । प्रत्यक्ष लाभ प्राप्त हुने र उपलब्धि देखिने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट बनाइएको छ।
रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता राखेर काम गर्ने जनाइएको छ। जेठ २६ मा नीति तथा कार्यक्रम पेस गरेको सरकारले त्यसकै आधारमा बजेट ल्याउन थालेको हो।