
रामेछाप । तेस्रो मन्थली नगरपालिकाको मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जितेको छ । उसले वडा नं १० चनखुलाई सोझो सेटमापछि पार्दै उपाधि जितेको हो । महिला तर्फको उपाधि भने भटौलीले जितेको छ ।
बुधवार मध्यान्न भएको विजेताको प्रतिस्पर्धामा तीनै सेट २५–१९, २५–९ र २५–१२ ले आफ्नो पक्षमा पार्दै चिसापानीले पुरुष तर्फको भलिबलको उपाधि हात पार्दै इतिहास रचेको हो । यो सँगै चिसापानीले नगद १ लाख रुपैयाँसहित रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेताहरूलाई नगरपालिका प्रमुख लव श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेतसहितका जनप्रतिनिधिहरूले नगद १ लाखसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र हस्तान्तरण गरे ।


त्यस्तै, उपविजेतामा चित्त बुझाएको मन्थली–१० चनखुले नगद ७५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो नगर कपको विजेता समेत रहेको वडा नं ७ भटौली तेस्रो नगर कपमा तेस्रो मात्रै भएको छ । उसले नगद ३० हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यो पटकको सान्त्वना पुरस्कार भने प्राविधिक त्रुटि गरेको पाइएकाले रद्द गरिएको आयोजक नगर खेलकुद विकास समितिले जनाएको छ ।
त्यस्तै, तेस्रो नगर कप अन्तर्गत भएको प्रथम महिला भलिबल कपमा प्रथम भएको वडा नं ७ भटौलीलाई नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र नगरकी उपप्रमुख ईश्वरी बस्नेतले प्रदान गरिन् ।
महिला भलिबलमा उपविजेता भएको मन्थली–१३ फुलासीले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । तेस्रो बनेको मन्थली–६ भलुवाजोरले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
विगतमा पुरुषको मात्रै खेल खेलाउँदै आएको मन्थली नगर खेलकुद विकास समितिले यो पटक देखि महिला भलिबलको खेल खेलाउन थालेको हो । महिला भलिबलमा वडा नं १,२,३,६,७, ८ र १३ नम्बरले भाग लिएर प्रतिस्पर्धा गरेका थिए ।
