काठमाडौं- उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट मात्रै सञ्चालन हुन थालेसँगै नयाँ बसपार्कमा ५६ टिकट काउण्टर थप भएका छन् ।
नयाँ बसपार्कभित्रबाट माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि यातायात व्यवसायीको सहकार्यमा नयाँबसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिले ५६ नयाँ टिकट काउण्टर थप गरेको हो ।
काठमाडौ महानगरपालिकाले काठमाडौं भित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका लागि असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो,मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यसअघि काठमाडौं भित्रको बल्खु, कलंकी,बालाजु, माछापोखरी,गोंगबु र कोटेश्वरलगायतका क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएको थियो । काठमाडौं महानगरपालिकाले शुक्रबार बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालन भएका टिकट काउण्टरसमेत हटाएको थियो ।
महानगरपालिकाको निर्णय कार्यान्वयनसँगै माइक्रोबस तथा जीप नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् । माइक्रोबस तथा जीपलाई सञ्चालन गर्नका लागि लोत्से मल पछाडि पार्किङ तथा काउण्टरको व्यवस्था गरिएको छ ।
एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८०० भन्दा बढी ठूला सार्वजनिक सवारी साधन पार्किङ गर्न मिल्ने क्षमता रहेको छ ।