बैतडी- बैतडीमा नेपाली कांग्रेसको जिल्ला सम्मेलन असार ३ गते आइतबार हुने भएको छ।
नेपाली कांग्रेसको विधानमा वर्षमा दुईपटक वडा सम्मेलन गर्नुपर्ने, पालिका, क्षेत्रीय र जिल्ला सम्मेलन वर्षमा एकपटक गर्नुपर्ने व्यवस्था छ। जिल्लाका ८४ वटै वडा र १० स्थानीय तहको सम्मेलन सम्पन्न भइसकेको नेपाली कांग्रेस बैतडीका कार्यालय सचिव अनिलकुमार विष्टले जानकारी दिए। नेपाली कांग्रेस बैतडी संगठन सुदृढीकरण अभियानमा जुटेको छ।
पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वडको प्रमुख आतिथ्यमा जिल्ला सम्पन्न हुने नेपाली कांग्रेस बैतडीका सचिव प्रेम चन्दले जानकारी दिए। सम्मेलनमा संगठन विस्तार, क्रियाशील सदस्यता, पार्टीले गरेको काम कारबाहीका बारेमा समीक्षा र पार्टीलाई चलायमान बनाउन जिल्ला सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने चन्दको भनाइ छ।
कांग्रेसको संगठनको अवस्था, पार्टीको संरचना, संगठन सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, संगठन विस्तारका लागि अपनाउनुपर्ने रणनीति, पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा सम्मेलनमा छलफल हुने नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए।
उनले भने, ‘सम्मेलनमा कांग्रेसको संगठनलाई कसरी बलियो बनाउने, पार्टीले गरेका कामको विषयमा समीक्षा र आगामी कार्यदिशाका लागि घनीभूत रूपमा छलफल हुन्छ। यसले कांग्रेसलाई गतिशील बनाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्छ।’