गोरखा- गोरखामा जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु भएका ५ जनाको सनाखत भएको छ। दुर्घनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनालाई थप उपचारका लागि चितवनको भरतपुर मेडिकल कलेज पठाइएको छ। दुई जनाको सकुशल उद्धार गरिएको छ।
शहीद लखन–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङबाट फर्किँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप शुक्रबार बिहान २ बजे दुर्घटनामा परेको गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।
१९ जना सवार जीपमा गम्भीर घाइते भएका ४ जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको र अन्य ८ जनाको तनहुँको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको लामिछानेले बताए।
मृत्यु हुनेमा शहीद लखन गाउँपालिका– ५ पोखरे डाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षका निरज थापा, १९ वर्षीया नविना थापा सोही गाउँपालिका–४ का ६४ वर्षीय धनबहादुर थापा रहेका छन्।
दुलहा दुलहीसहित शहीदलखन–३ कोटगाउँबाट १९ जना जन्ती बोकेर जिप शहिदलखन ५ पोखरीडाँडा जाँदै गरेको थियो। बेहुलाबेहुलीसहित अर्को दुईवटा गाडी अगाडि गएको र तेस्रो गाडी दुर्घटनामा परेको नायब उपरीक्षक लामिछानेले बताए। घाइते सबैजना शहीद लखन– ५ पोखरीडाँडाका हुन्।