विराटनगर- जनता समाजवादी पार्टीले कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीलाई विश्वासको मत नदिने भएको छ।
एमालेका मुख्यमन्त्री कार्कीले बिहीबार प्रदेशसभामार्फत् विश्वासको मत लिँदैछन्। जसपाका प्रदेश अध्यक्ष दीपक याक्खाले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू मतदानमा सहभागी नहुने बताएका छन्।
पुस २५ गते कार्कीको नेतृत्वमा सरकार गठन हुँदा एक सांसद रहेका जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी थिइन् ।
जेठ १७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । जेठ २३ गते माओवादी केन्द्र पनि सरकारबाट बाहिरिएपछि कार्की अल्पमतमा परेका थिए। ९३ सदस्यीय प्रदेशसभामा सरकार टिकाउन ४७ सांसदको समर्थन आवश्यक पर्छ। एमालेको ४० र राप्रपाको ६ गरी मुख्यमन्त्री कार्कीसँग ४६ सांसदको समर्थन छ।
जसपाले अन्तिम समयमा भए पनि समर्थन गर्ने एमालेको अपेक्षा भए पनि बहिस्कार गर्ने निर्णयले कार्की नेतृत्वको सरकार ढल्ने देखिएको छ।
प्रदेशसभाको विशिष्ट अंकगणितका कारण समीकरण फेरबदल नभई अर्को सरकार बन्दा त्यसले पनि विश्वासको मत नपाउने र प्रदेशमा मध्यावधि निर्वाचन हुने जोखिम बढेको छ।