इलाम- इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन्।
माईजोगमाई–२ टारसिंहका ५६ वर्षीय पीताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेका इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिनुभयो । राधिका पिताम्बरकी जेठी श्रीमती हुन्।
गएराति करिब साढे १० बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेर्दा घटनाबारे जानकारी प्राप्त भएको घिमिरेले बताउनु भयो । राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीचौकी गोर्खेका प्रहरी सहायक निरीक्षक मदन बस्नेत तथा प्रहरीचौकी जौबारीका प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ।
गालामा गहिरो चोट लागेकी राधिकाको घटनास्थलमै ज्यान गएको एसपी घिमिरेले जानकारी दिनुभयो । पिताम्बर भने घरदेखि एक सय मिटर टाढाको निबारोको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट समेत थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।