विराटनगर- विनित सोनारको आर. के चिल्ड्रेन अगाडि चिया–नास्ताको पसल थियो। त्यही पसल उनको र परिवारको भरथेगको आधार बनेको थियो।
अस्पतालमा आउने सेवाग्राहीदेखि चिकित्सक र अन्य स्वास्थ्यकर्मीले समेत उनले पकाएको परिकारको स्वाद लिन भ्याउँथे। चियानास्ता पसलको भरमा उनको जीवन चलिरहेकै थियो।
त्यसैबीच आर. के अस्पतालको डा. नितेश तिवारीसँग सम्बन्ध गहिरिन थाल्यो। त्यही सम्बन्धको आधारमा उनले डा. तिवारीसँग डेढ वर्ष अघि सात लाख रुपैयाँ ऋण लिए। होटल विस्तार गर्ने र किराना पसल चलाउने भन्दै मागेको ऋणले उनको जीवन अन्तिम भएको छ। अर्थात् उनको मृत्यु भएको छ।
मिटरब्याजको पीडामा पिल्सिएका उनले जिल्ला प्रशासन कार्यालय मोरङमा पीडित र पीडक पक्षको छलफलपछि विष सेवन गरेका थिए। उनको नेबेल अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो।
साउन ७ गते जिल्ला प्रशासन कार्यालय मोरङमा छलफल सकेर बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि कार्यालय परिसरमै उनले विष सेवन गरेका थिए।
कटहरी गाउँपालिका–३ सोनारकी श्रीमती रीता सोनारले डा. नितेष तिवारीविरुद्ध मिटरब्याजबाट पीडित भएको उजुरी दिएकी थिइन्। उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय मोरङले दुवै पक्षलाई साउन ७ गते छलफलका लागि बोलाएको थियो।
विष सेवनबाट गम्भीर बिरामी भएका उनलाई कोशी अस्पताल हुँदै नोबेल मेडिकल कलेज लगिएको थियो। नोबेलमा उपचारका क्रममा बिहान ८ बजेर ३० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका सहायक प्रवक्ता प्रहरी निरीक्षक पपु नायकले जानकारी दिए।
नितेष तिवारीविरुद्ध मिटरब्याजको उजुरी दिएका सुनारलाई प्रहरीले बैंकिङ कसुरको मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो।
जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले दुवै पक्षलाई छलफलका लागि राखिएको थियो।
पीडितले आफूले सात लाख रुपैयाँ ऋण लिएको दाबी गरेका छन्। डाक्टर तिवारीले भने १५ लाख रुपैयाँ दिएको दाबी गरेका थिए।
लेनदेनको कागज नदेखिए पनि सोनारले डाक्टर तिवारीलाई चेक दिएका थिए। ऋण लिँदा ग्यारेन्टीका लागि दिएको ब्ल्याङ्क चेकमा डाक्टर तिवारीले मनलाग्दी रकम भरेर आफूलाई फसाएको सोनारले दाबी गर्दै आएका थिए।
पहिलो छलफल निष्कर्षमा नपुगेपछि सहायक प्रमुख जिल्ला अधिकारी साहले पाँच दिनभित्र मिलेर नआएको अवस्थामा उजुरीलाई प्रक्रियामा लैजाने बताएका थिए।