काठमाडौं– गीतकार तथा साहित्यकार दिलीप योञ्जन तामाङ्गद्वारा रचना गरिएका गीतहरुको नयाँ गीति संग्रह ‘आमा मेरी आमा’ विमोचन गरिएको छ । बुधवार आयोजिक एक सांगीतिक समारोहमा गीतकार कृष्णहरी बराल, साहित्यकार डा. रेनुका सोलु , शुभ मुकारुङ्ग, विश्व वल्लभ, , गीतकार तथा गजलकार शितल कादम्बीनी, संगीतकार राजेश थापा लगायतले उक्त संग्रह विमोचन गरेका हुन् । संग्रहमा गीतकार योञ्जनले आफ्नी स्वर्गिय माता पासाङ्ग डोल्मी तामाङ्गप्रति समर्पित भएर रचना गरेका ७ वटा गीतहरु समावेश छन ।
संग्रहका गीतमा मातृ स्नेह, जीवन भोगाई, आध्यात्म दर्शन तथा जागरण भावलाई समेटिएको छ । साहित्यकार डा। रेनुका सोलुले विमोचित एल्बमको समीक्षा गर्दै गीतकार योञ्जनले नेपाली साहित्य तथा गीत लेखनको क्षेत्र साथै समाजसेवाको क्षेत्रमा पुर्याएको योगदान अमूल्य रहेको बताइन । सोलुले आमालाई श्रद्धाञ्जली स्वरुप समर्पण गरिएको गीतमा मातृभुमी र आमाको कर्मबाट आफू सफल भएको कुरालाई गीतमा समेटिएको बताइन् । गीतकार कृष्णहरी बरालले गीतकार योञ्जनले नेपाली गीत संगीत र साहित्यका विविध विधामा पुर्याएको योगदानलाई आम नागरिकले भुल्न नहुने बताए । एल्बममा गीतमा राजेश थापा र डिबि लामाको संगीत छ भने सुरेश लामा, प्रविण बेडवाल, श्रेयसी चेम्जोङ्ग, शुभ तामाङ्ग, सुनिता लो, सुमिना लो तथा अन्जु लामाको स्वर रहेका छन ।
कार्यक्रममा बोल्दै संगीतकार राजेश थापाले दिलीप योञ्जन आफैँमा सशक्त गीतकार रहेको दावी गरे । मौलिक सिंर्जना र नेपाली माटोप्रतिको प्रगाढ स्नेह उनको गीतमा भेटन सकिने दावी गरे । गीतकार संघ नेपालद्वारा आयोजित समारोहमा संघका अध्यक्ष बसन्त वित्यासी थापाले गीतकार योञ्जनदरा रचित गीतिसंग्रह विमोचन गर्न पाउँदा आफूहरुलाई निकै खुसी लागेको बताए । योञ्जनका हालसम्म आगमन, अविरल, अमर, मान्छेको भिडमा, आस्था खोजिरहेको छु, अनुराग गरी छ वटा गीति संग्रह बजारमा आएका छन् ।