काठमाडौं- ग्रामीण तहमा बाँझोपनको समस्या बढ्दै गएको भन्दै चिकित्सकहरूको चिन्ता व्यक्त गरेका छन्।
चिकित्सकहरूले पछिल्लो केही वर्षयता युवाहरू विदेश जाने क्रम बढेको र उमेर पुगेर पनि विवाह नगर्दा बाँझोपनको समस्या बढ्दै गएको बताएका हुन्। उनीहरूले बाँझोपनको समस्या समाधानका लागि परामर्श दिन आवश्यक भइसकेको बताए।
चिकित्सकहरूका अनुसार बाँझोपनले मानसिक समस्या विकराल बन्दै गइरहेको भन्दै सचेत रहन आग्रह समेत गरेका छन्। प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले बाँझोपन हुनुमा महिला र पुरुषको भुमिका समान हुने बताए।
उनले विवाह पश्चात पुरुषहरू वैदेशिक रोजगारीमा जानु पनि बाँझोपनको कारण रहेको औंल्याए। उनले खाडी मुलुकमा गएका पुरुषहरू नेपालमा फर्किँदा बच्चा नहुनुको प्रमुख कारण उच्च तापक्रमले शुक्रकिट उत्पादनमा ल्याउने ह्रास रहेको पनि बताए।
डा. सुवेदीले एक वर्ष वा एक वर्ष भन्दा बढी समयसम्म श्रीमान श्रीमती अस्थायी परिवार नियोजनको साधन बिना यौन सम्पर्क गर्दा पनि सन्तान उत्पादन नभएमा त्यसलाई बाँझोपन भनिने बताए। डा. सुवेदीले सरकारले बाँझोपनबारे प्रिकन्सेप्सनल काउन्सिलिङ स्थापना गर्ने बेला भइसकेको बताए।
भ्रुण रोग विशेषज्ञ डा. विनिता थापाले निःसन्तानपनको उपचार गर्न केही समय लाग्ने बताइन् । उनले निःसन्तान कसरी हुन्छ भनेर सुरूमा आम नागरिकमा जनचेतना जगाउन आवश्यक रहेको उल्लेख गरिन्। थापाले निःसन्तानको उपचारका लागि महिनावारीको दोस्रो दिनबाट सुरू भई १३÷१४ दिनसम्म स्क्रिनिङ नै गरेर राख्ने गरिएको बताइन्। लामो समय लाग्ने हुँदा उपचारका लागि विकट ठाउँबाट आउनेहरूका लागि निकै समस्या हुने गरेको बताइन्। उनले निःसन्तानबारे जनचेतना जगाउन आवश्यक रहेको धारणा राखिन्।
बाँझोपन पछिल्लो केही वर्षयता सरकारको प्राथमिकतामा परे पनि यसको निराकरणका लागि संवद्ध निकायहरू बन्न नसकेको चिकित्सकहरू बताउँछन्।