काठमाडौं- राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै, एसोसिएसनले भाद्र १८ गते सोमवार नेपाल प्रज्ञा भवन, कमलादीमा प्रतियोगिताको पाँचौ संस्करण आयोजना गर्ने जानकारी दिएको हो ।
लोकनृत्य प्रतियोगितामा प्रत्येक विद्यालयले प्रवेश शुल्क रु.५०००/– तिरी भाग लिन सक्नेछन् । विद्यालयहरुले प्रतियोगितामा कक्षा ५ देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई राखी कम्तिमा ८ देखि २४ जनाको समूह बनाई बढीमा ५ मिनेट भित्र आफ्नो नृत्य प्रस्तुत गर्न सक्दछन ।
प्रतियोगितामा ७५ विद्यालयका विद्यार्थी सहभागि हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रस्तुत हुने नृत्य र गीत संगीत नेपाली लोककला, रीतिरिवाज साथै सम्बन्धित संस्कृतिको मौलिकता झल्कने नृत्यलाई मात्र सहभागी गराईने छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीलाई कम्रशः रु. २५,०००/– रु. २०,०००/– र रु. १५,०००/– का दरले नगद पुरस्कारका साथमा प्रमाणपत्र तथा ट्रफी प्रदान गरी पुरस्कृत गरिने छ ।