काठमाडौँ- भद्रपुर झापा गोल्डकपले झापा लिग गर्ने भएको छ । भद्रपुर झापा गोल्ड कपको आयोजनामा गत वर्ष फागुनमा भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता भएको थियो ।
लिग मंसिर ७ गतेदेखि भद्रपुरको मेची रंगशालामा हुने झापा लिगको तयारी सुरु गरिएको छ । लिग १५ दिनसम्म चल्ने अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।
झापाका १५ वटा पालिका र आयोजकको एक टिम गरी प्रतियोगितामा १६ वटा टोेलीले प्रतिस्पर्धा गर्ने छन् । १६ टोलीलाई चारवटा समूहमा विभाजन गरी खेलाइने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । प्रतियोगितामा तेस्रो स्थानका लागि पनि खेलाइनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित ३ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । नकआउट चरण प्रवेशपछि प्रत्येक हरेक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउने छन् ।
प्रतियोगिताका लागि ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ । झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।