काठमाडौं । शिक्षक संगठनको प्रदर्शनसंगै काठमाडौंको ट्राफिक व्यवस्था तीन दिनदेखि अस्तव्यस्त भएको छ । शिक्षा विधेयकको विरोधमा काठमाडौंमा शिक्षकहरूले प्रदर्शन गरेपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको हो । देश भरबाट आएका शिक्षकहरूले बुधबारदेखि काठमाडौंमा प्रर्दशन गर्दै आएका छन् ।
सरकारले शिक्षकहरूसँगको वार्ताको जिम्मा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई दिएको छ । शुक्रबार बस्ने भनिएको वार्ता अझै बस्न सकेको छैन । शिक्षक संगठन आन्तरिक छलफलमा जुटेको छ । उनीहरूले वार्ता र प्रदर्शन एक साथ अगाडि बढाएका छन् । शुक्रबार पनि बिहानदेखि नै माइतीघरमा जम्मा भएका शिक्षकहरूको प्रदर्शन माइतीघर हुँदै संसद् भवन नयाँ बानेश्वरसम्म जाने तयारी गरेका छन् ।
जसकारण उक्त रूटमा चल्ने सवारी साधनलाइ विभिन्न सहायक रुटमा डाइभर्ट गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टले जानकारी दिए । विधेयक मस्यौदामाथि नेपाल शिक्षक महासंघले दिएका सुझावहरूलाई समावेश नगरी सदनमा पेस गरिएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् । शुक्रबारसम्म पनि वार्ता नमिलेको खण्डमा आन्दोलन हुने निश्चित छ ।